Logo

Breaking News 1

हिमाली र पहाडी जिल्ला ११ र १२ गते रात्रिकालीन बस नचालाउन प्राधिकरणकाे आग्रह


१० आश्विन २०८१, बिहिबार  

115
Shares

काठमाडौं । आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा यही असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।

विभागले कोसी प्रदेशको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ मधेसको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ ।

यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ ।

प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : ३४ बजे