Logo

मुख्य समाचार

दलहरु लोकतन्त्रप्रति उदासिन छन् : उपाध्यक्ष सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको बताएका छन् ।

बिहीबार नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सव र संविधानको नवौं वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको अवस्थामा बहसको आवश्यकता रहेको बताए ।

अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान नदिने र सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको कारण डरलाग्दो स्थिति सिर्जना भएको उनको भनाई छ ।

उनले भने,‘यति राम्रो संविधान, यति धेरै मेहेनत गरेर निर्माण भएको संविधान छ ।  तर पार्टीहरुमा लोकतन्त्रप्रति उदासिनता छन् । विचारको बहस छैन । अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान दिदैनन् । सम्पुर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको छ । त्यसकारण डरलाग्दो स्थिति सिर्जना भएको छ ।’

उनले संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै संविधानमा भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए । विश्व दृष्टिकोणप्रति पनिसचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनको भनाई छ ।

‘हामीले धेरै छलफल गरेर बनाएको संविधानमा संवैधानिक मूल्य मान्यताका सबै आयामहरु समेटिएका छन् । त्यतिमात्र होइन संविधानमा लोकतन्त्रका मूल्य मान्यता पनि समेटिएका छन् । संविधान महत्वकांक्षी पनि छन् । संविधानमा एउटा छुट्टै दर्शन छ, उनले भने,‘संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्दछ । विश्व दृष्टिकोणप्रति पनि सचेत हुनुपर्दछ । विश्व दृष्टिकोणबाट सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्दछ । लोकतान्त्रिक विचारधारामा हामीले बहस नै गरेनौं ।’

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : ४४ बजे