Logo

मुख्य समाचार

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड



महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । 

महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताए ।

उनले भने, ‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ । त्यसैको सानो प्रमाणको रुपमा यो पार्टी प्रवेश कार्यक्रमलाई मैले लिएको छु ।’

राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उनको दाबी थियो ।

‘जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधासभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था लगायत सबै आजका एजेण्डा माओवादीले नै अघि सारेका एजेण्डा हुन् । हामी जतिपटक सरकारमा गएका छौं, नयाँ नयाँ काम गरेका छौं,’ उनको भनाइ छ उनको भनाइ छ ।

जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकासहुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदम ऐतिहासिक रहेको उनले स्पष्ट पारे ।

भ्रष्टाचारका फाइल खोलेर कारवाही प्रक्रिया थाल्नेदेखि मधेशलगायत देशैभरिको ठूलो समस्याको रुपमा रहेको मिटरब्याजको समस्या समाधान र लाखौं नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायतका काम ऐतिहासिक उपलब्धि प्रचण्डको दाबी छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : ३१ बजे