Logo

मुख्य समाचार

विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने बनाउँछाैँ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोस) को १२ औँ सम्मेलनको उद्घाटन गरेका छन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्ब गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए।

हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जबाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जनताको मताधिकारको सम्मान हुने पनि जनाए।

फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा : जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाईसराई’ केन्द्रित भई छलफल हुनेछ ।

उद्घाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे । सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन्। फेम्बोसाको ११ औँ सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ११ : ३२ बजे