Logo

राजनीति

युवालाई पार्टीको जिम्मेवारी दिने तयारीमा एमाले



काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक भोलि फेरि बस्ने भएको छ ।

मंगलबार पोलिट्ब्युरो बैठकमा महासचिवले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि बृहत छलफल गर्न भोलि ११ बजे फेरि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनले भने, ‘आज बैठकमा पार्टी महासचिवले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो र कार्ययोजनामाथि बृहत छलफल गर्ने गरि भोलि ११ बजे बैठक आह्वान भएको छ ।’

यसको साथै, उनले प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको पनि बताए ।

उनले भने, ‘आज प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको छ । त्यसपछि विधि संवत तरिकाले पार्टी कमिटिहरुको परिचालन र पार्टी संगठनमा देखिएका अन्तर विरोधहरुको व्यवस्थापन गर्ने कुरा आएको छ ।’

यस्तै, नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको पनि उनको भनाई छ ।

उनले भने, ‘नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको छ । जस्तो नयाँ पुस्तामा पार्टीको प्रभाव र नेतृत्वमा विकासका योजना कार्यान्वय गर्नका लागि प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा स्थानीय पार्टी कमिटी ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी तरिकाले लागू गर्ने गरि प्रस्ताव गरिएको छ । प्रत्येक गाँउपालिकाले ५०, नगरपालिकाले एक सय, उपनगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा परिचालन गरेर पार्टीका काममा जोड्ने कुरालाई जोड दिइएको छ ।’

उनले स्थायी रुपमा पार्टी सञ्चालन र अभियानका रुपमा पार्टी प्रशिक्षणहरु सञ्चालन गर्ने कुरा पनि विशेष रुपमा उठेको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ३१ बजे