Logo

मुख्य समाचार

तयारी पोशाक र हस्तकला उद्योगका नीतिगत समस्या समाधानको माग


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । उद्योग समितिले तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्या र हस्तकला क्षेत्रका समस्याका सम्बन्धमा प्रतिनिधिहरूसँग छलफल गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका र हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा गरेको हो ।

बैठकमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले माथिबाट एउटा निर्देशन आउने र बोर्डरमा भएको भन्सारले आफ्नो आफ्नो परिभाषा बनाएर निर्यात सामानलाई समस्या बनाइराखेको बताए ।

उनले सामान निर्यात र आयातमा एकरुपता ल्याउन आवश्यक रहेको बताए । निर्यात हुने बस्तुलाई कर नलाग्ने भइसकेपछि स्वचालित प्रणालीद्धारा आयात र निर्यात हुन दिनुपर्ने बताए ।

उनले भने,‘माथिबाट एउटा निर्देशन हुन्छ । भन्सारबाट अर्को निर्देशन आउँछ । बिभिन्न बोर्डरमा भएको भन्सारले आफ्नो आफ्नो परिभाषा बनाएर निर्यात सामानलाई समस्या बनाइराखेको छन् । त्यसलाई आयात गर्दापनि कसरी एकरुपता ल्याउने त्यसमा ध्यान दिन आवश्यक छ । त्यसैगरी निर्यात हुने बस्तुलाई कर नलाग्ने भइसकेपछि स्वचालित प्रणालीद्धारा आयात र निर्यात हुन दिनुपर्छ । त्यो भयो भने साँचो मूल्य आउँछ र हामीलाई पनि राम्रो हुन्छ ।’

त्यस्तै  नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला नेपालको पहिचान दिलाउने पर्यटन वृद्धि गराउने बस्तु भएकाले घरेलु तथा साना उद्योग अन्तर्गतमात्र सिमित राख्न नहुने धारणा राखे । नेपाली हस्तकलाका बस्तुहरु सरकारी निकायबाट पनि प्रयोग गरिदिनका लागि आग्रह गरे ।

उनले भने,‘हस्तकला भन्नसाथ नेपालको पहिचान दिलाउने या पर्यटन वृद्धि गराउने हो । यसलाई घरेलु तथा साना उद्योग अन्तर्गतमात्र राखेर पनि हुँदैन् । किनभने उच्च मूल्य भएको प्रोडक्ट भएकाले छुट्नै हस्तकला नीति प्रस्ताव गरेका छौं । त्यो भयो भने हस्तकला क्षेत्रको प्रवद्र्धन हुन्छ । नेपाली हस्तकलाका बस्तुहरु सरकारी निकायबाट पनि प्रयोग गरिदिनुप¥यो । तयारी पोशाक पनि हप्तामा एक दिन भएपनि उहाँहरुले लगाइदिनुपर्छ ।’

उनले ८० वटा देशमा हस्तकलाको बस्तु निर्यात गरिहेको र प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहिले १२ अर्ब रुपैयाँ बराबारको हस्तकलाका बस्तुहरु निर्यात भइरहेको समितिलाई जानकारी गराए ।

त्यस्तै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्दा हस्तकलामा १० लाख व्यक्तिहरुले रोजगारी प्राप्त गरेको र जसमा ८० प्रतिशत भन्दा बढि महिला आवद्ध भएको उनको भनाई छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : ५८ बजे