काठमाडौं । घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल ४-१ गोलले पराजित भएको हो ।
बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नाेभाले एक गोल गरे । यता नेपालका लागि समीर तामाङले गरेकाे गाेल सान्त्वना बन्याे ।
पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्रीकिक मार्फत गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए । उनले पेनाल्टी बक्सबाहिर आएको फ्रीकिकलाई सोझै गोलमा परिणत गरेका थिए ।
यसअघि प्रतियोगिताको समूह चरणमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशसँगै कुल ६ टोलीको सहभागिता थियो ।
प्रतिक्रिया