Logo

राजनीति

अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरु पदाधिकारीमा चुनावी बहस



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरु पदाधिकारीमा चुनावको सम्भावना बढेको छ । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।

त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए । महाधिवेशनमा नेपाल र भुसालको भिडन्त हुने सम्भावना बढेको थियो । तर, चौतर्फी दबाबपछि भुसाल पछि हटेका थिए ।

चासोका साथ हेरिएको पदमा सहमति जुटेको थियो । बाँकी १८ पदाधिकारी भने चयन गर्न हुन सकेन । महाधिवेशनले असार २१ गते ९३ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको थियो । त्यसको करिब एक महिनापछि केन्द्रीय कमिटीले पूर्णता पाएको थियो ।

३४३ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । तर, पनि एकीकृत समाजवादीमा असन्तुष्टि कायम नै छ । पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल गर्न आइतबारबाट केन्द्रीय कमिटी बैठक जारी छ । पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास भए पनि अहिलेसम्म सहमति नभएको नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले पदाधिकारीमा सहमति जुट्न नसकेको बताए । उनले अब, चुनावको सम्भावना रहेको पनि बताए । “पदाधिकारीमा सहमति जुट्न सकेको छैन । चुनाव हुने सम्भावना बढेको छ,” उनले भने ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । पदाधिकारीमा चुनाव गर्न दिनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ५२ बजे