Logo

Breaking News 1

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै



काठमाडौं । सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ ।

यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो ।

बेलुकीदेखि व्रत बसेका विवाहित महिला गौरा पूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्छन् ।

भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराउँस गरी पाँच प्रकारका गेडागेडी अर्थात् पञ्चबिरुडाले गौरा महेश्वर अर्थात् शिवपार्वतीको पूजा गर्ने परम्परा छ । पूजा सकिसकेपछि आशीर्वादसहित सबैलाई प्रसाद बाँड्ने चलन छ ।

गौरा पर्वसँगै देउडा खेल्ने पनि सुदूरपश्चिमवासीको चलन छ । व्रतालुले बिरुडा बाँडेर ठूलाबडाको आशिर्वाद लिने, ब्रत बसेकालाई प्रसादका रूपमा बिरुडा दिने र खाने चलन छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ३८ बजे