Logo

प्रविधि

वैज्ञानिक अनुसन्धानमा कहाँ छौं ?



काठमाण्डाैँ : द नेसनल रिसर्च काउन्सिल क्यानडा, क्यानडाको विज्ञान प्रविधि र अनुसन्धानमा कार्यरत सरकारी संस्था हो। यसअन्तर्गत विभिन्न विभाग छन्। प्रत्येक विभागले यहाँको माटो सुहाउँदो अनुसन्धान गर्ने मात्र होइन, अन्य विश्वविद्यालय र सरोकार संस्थासँग अनुसन्धानमा सहकार्य गर्ने गर्छ। नेपालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को स्थापना चार दशकपहिले (सन् १९८२) मा स्थापना भएको हो। प्रधानमन्त्री कुलपति र विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति हुने व्यवस्था छ। चार दशक पार गर्दासमेत ठोस उपलब्धि हुन नसकेको तीतो यथार्थ छ। राष्ट्रले लगानी गरेको एउटा मात्र सरकारी स्तरको अनुसन्धान संस्थाले किन गति लिन सकेन ?

प्रज्ञा–प्रतिष्ठान स्थापनाका बखत स्थापित उद्देश्यहरू समय अन्तरालसँगै मूल्यांकनसहित परिमार्जन गरिनु पर्छ। तत्कालीन उद्देश्यहरू सो समयमा सान्दर्भिक थिए होलान् तर अहिले ४० वर्षपछि जस्ताको तस्तै उपयोगी नहुन सक्छन्। त्यस बखत र अहिले विश्वमा विज्ञान र प्रविधिका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको छ। यसकारण प्रज्ञा–प्रतिष्ठानले उद्देश्यलाई समयसापेक्ष बनाउनै पर्छ। परिवर्तित उद्देश्यहरू राष्ट्रिय आवश्यकता परिपूर्तिको दिशामा केन्द्रित हुनुपर्छ। उद्देश्य अनुरूप लक्ष्य प्राप्तिका लागि विद्यमान ऐन–कानुनमा आवश्यकताअनुसार समयसापेक्ष परिवर्तन गरिनुपर्छ। परिवर्तित कानुनी संरचना सरल र सहज तरिकाले काम गर्न सक्ने वातावरणको सिर्जना गर्न सक्ने हुनुपर्छ। प्रज्ञा–प्रतिष्ठान छाता संस्थाको अवधारणा अनुरूप गठन भएको संस्था हो। यसले विज्ञान प्रविधिका क्षेत्रमा काम गर्ने सम्पूर्ण संस्थालाई समेट्ने गरी कानुनमै व्यवस्था गर्नुपर्छ।

नास्टमा अनुसन्धान कार्य सुचारु ढंगले सम्पादन होस् भनेर विज्ञान संकाय र प्रविधि संकायको गठन गरिएको छ। वैज्ञानिकहरूलाई अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन प्रशासन महाशाखा अस्तित्वमा छ। वैज्ञानिक क्षेत्रमा भए÷गरेका नवीनतम अनुसन्धानबारे प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रवद्र्घन तथा प्रचार महाशाखाको गठन गरिएको छ। संगठित रूपले कार्य गर्ने नीतिअनुरूप गठित विभिन्न संरचना अस्तित्वमा छन्। तर पनि नेतृत्वको अकर्मण्यताका कारण यी संरचनाले स्वस्फूर्त रूपले कार्य गरेको पाइँदैन। विद्यमान संरचनालाई चलायमान बनाउन सर्वप्रथम नास्ट ऐन र नियमावलीलाई अक्षरशः पालना गर्न, गराउनु पर्छ। पदाधिकारी नियुक्त भएर आएपछि संस्थासँंग सम्बन्धित ऐन, नियमहरूको अध्ययन गरेको हुनुपर्छ। जुन वर्तमानमा भएको पाइँदैन।

उल्लेखित संरचनाअन्तर्गत कार्यरत कर्मचारीलाई आवश्यकताअनुसार पुनर्ताजगी तालिम प्रदान गरिनुपर्छ। यसले उनीहरूको कार्यक्षमता अभिवृद्धि हुने मात्र नभई कार्यप्रतिको लगनशीलतासमेत जागरूप हुन जान्छ। पदअनुसार जिम्मेवार र सोहीबमोजिम उत्तरदायीसमेत बनाइनु पर्छ। वैज्ञानिकहरू वृत्तिविकासको अवसरबाट वञ्चित रहँदा उनीहरूबाट थप प्रतिफलको अपेक्षा गर्न सकिँदैन। उनीहरूलाई नियमानुसार वृत्ति विकासका अवसरलगायत कार्यप्रति उत्प्रेरणा जगाउने खालका अवसर प्रदान गरिनु पर्छ। वैज्ञानिक कर्मचारीलाई कार्य गर्न स्वतन्त्रता प्रदान गरिनु पर्छ। वैज्ञानिकलाई हाल विद्यमान १० बजेदेखि ५ बजेसम्म कायम हाजिरी प्रणालीलाई विस्थापित गरी कामको आधारमा समय निर्धारण गर्नुपर्छ। वैज्ञानिकका साथै पारिवारिक जीविकोपार्जनलगायत भरणपोषणको पूर्ण ग्यारेन्टी संस्थाबाटै गर्नुपर्छ। उनीहरूले प्राप्त गर्ने मासिक पारिश्रमिक कमसेकम सार्क राष्ट्रका वैज्ञानिकले प्राप्त गर्नेसरह हुनुपर्छ।

वैज्ञानिकलाई यस्ता कुराले अनुसन्धानप्रति एकाग्रता र कार्यप्रति इमान्दारिता कायम गर्न मद्दत गर्नसक्छ। विदेशमा अनुसन्धानरत वैज्ञानिकहरू देशका गहना हुन्। उनीहरूको क्षमता र बुद्धिको देश हितमा उपयोग गर्ने वातावरण बनाउने दायित्व नास्टको हो। नास्टले केही पहिले ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ र हाल अंग्रेजी अनुवाद ‘ब्रेन पुलिङ’ कार्यक्रममार्फत केही वैज्ञानिकलाई एक वर्ष नास्टमा रही कार्य गर्ने अवसर दियो। निर्धारित समय समाप्तिपश्चात् वास्ता नगरेकाले संलग्न वैज्ञानिकहरू पुनः विदेशी अनुसन्धानशालामै फर्कन बाध्य भए। यदि कार्यक्रमलाई प्रचार मात्रैका लागि सञ्चालन गर्ने हो भने टिप्पणी नगर्नु नै बेस। निश्चित उद्देश्यका लागि कार्यक्रम सञ्चालन गर्ने हो भने दिगोपन हुने गरी कार्यक्रम सञ्चालन गरिनु पर्छ।

विदेशमा कार्यरत वैज्ञानिकहरूको स्वदेश प्रेमलाई अवमूल्यन गर्ने र उनीहरूलाई जिस्क्याउने कार्य कदापि स्वीकार्य हुँदैन। उनीहरू अवसर नपाएर विदेसिएका हुन्, रहरले होइन। यदि स्वदेशमै अवसर प्राप्त गरेको खण्डमा सायद उनीहरूले कामलाई पैसासँग तुलना गर्दैनन्। यो सबै वातावरण बनाउने कार्य नास्टको हो। यस दायित्वबाट पन्छिन मिल्दैन। संस्थामा सञ्चालन गरिने अनुसन्धानहरू व्यक्तिविशेषको विशेषज्ञताको आधारमा गर्नुपर्छ। त्यसो नगरी देशको आवश्यकताका आधारमा समन्वयात्मक ढंगले गरिनु पर्छ। देशभित्र क्रियाशील अनुसन्धानशालाबीच समन्वय गर्ने दायित्वसमेत नास्टको हो। सोका लागि नास्ट सक्रिय हुनुपर्छ।

नास्टले विज्ञान–प्रविधिका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने वैज्ञानिकमध्ये प्रतिवर्ष केहीलाई प्राज्ञमा नियुक्त गर्छ। प्राज्ञ नियुक्ति राजनीतिक भागबन्डाको आधारमा छ। विश्वमा कतै नभएको घिनलाग्दो प्रचलन नास्टले अवलम्बन गरेको छ। यो प्राज्ञ छनोटको भद्दा मजाक हो र प्राज्ञिक वर्गको उपहास पनि। प्राज्ञ नियुक्त भइसकेपछि अनन्तकालसम्म कायम रहने र जिम्मेवारी खासै नहुने यस्तो प्रचलनको तत्काल अन्त्य गरिनु पर्छ। अनुसन्धानबाट प्राप्त उपलब्धि जनस्तरसम्म पुर्‍याउन वैज्ञानिकलाई निजी क्षेत्रसँग जोड्ने कार्य संस्थाको हो। वैज्ञानिक अनुसन्धान निरन्तरको प्रक्रिया हो। यो क्षेत्र आर्थिक हिसाबले खर्चिलो र प्रतिफलका दृष्टिकोणले अन्तमा शून्य उपलब्धिसमेत हुन सक्छ।

यसकारण यस क्षेत्रबाट आजको भोलि नै उपलब्धिको अपेक्षा गर्नु सर्वथा गलत हुन्छ। वर्षौंसम्म केही हात नलाग्ने हो भने त्यहाँ कुनै न कुनै समस्या छ भन्ने बुझ्नुपर्ने हुन्छ। नास्टको सन्दर्भमा पनि यही र यस्तै भएको हो। अतः समस्याको पहिचान गरी बेलैमा उपाय नखोज्ने हो भने नेपालमा विज्ञान प्रविधिको अवस्था एकादेशको कथा नहोला भन्न सकिन्न। देशको माटो सुहाउँदो अध्ययन र अनुसन्धान गरी राष्ट्र र जनताले प्रत्यक्ष अनुभूति हुने अनुसन्धान गर्न सके नास्टको गरिमा अझै उच्च हुनेछ। -अन्नपुर्णबाट साभार 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : १३ बजे