Logo

प्रविधि

अलिबाबाले बलात्कारको गुनासोपछि हटायो महिला कर्मचारी



एजेन्सी: चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले यौन दुर्व्यवहारको गुनासो गर्ने एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । कम्पनीका एक सहकर्मी र क्लाइन्टले आफूमाथि यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाउँदै आएकी थिइन् । महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निष्कासन गरिएको महिलालाई थमाइएको एउटा पत्रमा उल्लेख छ । आफूमाथि  दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् । कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् । महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् । 

आरोपपछि सहकर्मीलाई पनि पदमुक्त गरिएको थियो । तर, उनीमाथिको आपराधिक मुद्दा भने स्थगित गरिएको थियो ।  चौतर्फी प्रचार गरिएको यस घटनाले चीनमा कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाका घटना उजागर गरेको छ । उनलाई गत महिना पदमुक्त गरिएको र त्यसको पुष्टि  कम्पनीका मालिकले गरेको  चीनको दाहे दैनिकले जनाएको छ । उनलाई निष्कासन गर्दा थमाएको पत्रसमेत सो पत्रिकाले प्रकाशन गरेको छ । ‘घटनाले समाजमा गम्भीर चासो बढेको र कम्पनीको ख्याती घटाएको छ,’ पत्रमा भनिएको छ । 

तर, महिलाले आफ्नो तर्फबाट कुनै गल्ती नभएको दाबी गरेकी छिन् । ‘मैले कुनै पनि गल्ती गरेकी छैन । ममाथि कम्पनीले गरेको व्यवहार मेरा लागि स्वीकार्य छैन ।,’ महिलाले भनेकी छिन् । आगामी दिनमा कम्पनीविरुद्ध कानुनी कदम चाल्ने पनि ती महिलाले बताएकी छिन् । 

महिलाले लगाएको आरोपलाईसमेत सो दैनिकले प्रकाशित छ, जसभित्र आफूमाथि दुर्व्यवहार भएको घटना उल्लेख गरेकी छिन् । ‘पियक्कड रात’ पछि आफू अचेत भएको र होटलको एउटा कोठामा सहकर्मीले बलात्कार गरेको  उनले बताएकी छिन् । २७ जुलाईमा आफूलाई चुम्बन गरेको र भोलिपल्ट ब्युँझँदा आफूलाई निर्वस्त्र पाएको उनले उल्लेख गरेकी छिन् । बलात्कार गर्ने व्यक्ति कम्पनीको माथिल्लो पदमा काम गर्ने उनले बताएकी छिन् । अर्का आरोपित क्लाईन्टलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ३४ बजे