Logo

समाचार

बाढीपहिरा पीडित परिवारलाई आर्थिक सहयोग



मङ्गलबारे । पहिरापीडित परिवारलाई इलामको फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको  थियो  । पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । 

गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तानतरण गरेका हुन् । पहिराका कारण कटुवाल परिवारका चार जनाको मृत्यु भएको थियो । साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख थप सहयोग गर्ने गाउँपालिकाले जनाएको छ  । 

सरकारले पहिराका कारण मृत्यु भएका परिवारलाई यसअघि नै प्रतिमृतक रु दुई लाख नगद दिने घोषणा गरेको छ । बेमौसमी वर्षासँगै कात्तिक २ र ३ गते पहिरामा परी फाकफोकथुम–३ का एउटै घरका चार जनाको सुतेकै ठाउँबाट पहिराले बगाएर मृत्यु भएको थियो । सो परिवारलाई राहत वितरण भइसकेको छ ।  फाकफोकथुम– १ का दुई जना मृतकका परिवारलाई पनि राहत दिने तयारी भइरहेको जनाइएको छ ।

बाढीपहिरामा परी फाकफोकथुम गाउँपालिकामा मात्र छ जनाले ज्यान गुमाएका थिए । यसमा फाकफोकथुम–३ का ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल रहेका छन् । फाकफोकथुम–१ का ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई रहेका छन् । जिल्लामा पहिराका कारण १५ जनाको ज्यान गएको थियो । यसअघि नै पीडितको घरमै पुगेर सरकारको तर्फबाट राहत वितरण भइसकेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : ४५ बजे