Logo

मनोरञ्जन

अमेरिकामा विमल सुवेदीको ‘हिटलर आउँदैछ’, वर्षा र जोयशको डेब्यु



काठमाडौँ । अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छिन् । उनले विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’मार्फत् रङ्गमञ्चमा डेब्यू गर्ने भएकी हुन् । नाटकलाई विमल सुवेदी र जोयश पाण्डे मिलेर लेखेका हुन् । जोयश चर्चित चलचित्र ‘साँघुरो’का निर्देशक हुन् ।

वर्षासँगै उनै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त व्यक्तिहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन् । यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए ।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लण्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए । उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी दिए ।

नाटक ‘हिटलर आउँदैछ’ ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए । ‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ । यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ । यही क्रमको निरन्तरताको रुपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौँ । यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौँ,’ उनले बताए ।

उनले आफूसँग २० बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताउँदै नेपाली सभ्यता, संस्कृति, सोच, क्षमता विश्व बजारमा आफ्नो पहिचान सम्मानपूर्वक राख्न सक्ने भइसकेको बताए ।

नाटकबाट ‘साघुँरो’ चलचित्रका निर्देशक जोयश पाण्डेले लेखकसँगै कलाकारको रुपमा पनि डेब्यू गर्दैछन् ।

जोयश पाण्डेले आफ्नो परिचय निर्देशकका रुपमा स्थापित रहे पनि आफूले कलाकारको रुपमा थुप्रै नाटक गरेको स्मरण गरे । उनले निर्देशक बन्नुअघि आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको जानकारी गराए । ‘मैलै आफ्नो यात्रा अभिनेताको रुपमा नाटकबाटै सुरु गरेको हुँ । तसर्थ विमलजीलाई भेटेपछि फेरि मलाई एकपल्ट अभिनेताका रुपमा नाटकमा काम गर्ने रहर भयो र यसमा सहलेखनसँगै मुख्य अभिनेताका रुपमा पनि म जोडिएको छु, जोयश पाण्डेको भनाइ थियो ।

जोयशको कुरामा सही थाप्दै विमलले नाटक लेखनमा उनको उपस्थितिले कथा अझै फराकिलो र गहिरो भएको बताए । उनले नाटकले भुटानी शरणार्थीको राजनीतिक र सामाजिक विषयसँगै यो समुदायमा देखिएको मानसिक स्वास्थ्यको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताए । म्युजिकल डार्क कमेडी विधाको यो नाटकलाई अन्तर्राष्ट्रिय ब्रडवेको मापदण्डअनुसार तयार गरिएको छ ।

दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन् । हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन् ।

‘नाटकबाट आएको धेरै कलाकारसँग चलचित्रमा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिले देखिनै थियो । तर यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु । मेरा पहिलो नाटक नै नेपालका उत्कुष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन । साथै नेपालका उत्कुष्ट निर्देशक जोयश पाण्डेसँगसँगै नाट्ययात्रा सुरु गर्नुले मलाई उत्साहित बनाएको छ । यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु,’ उनले भनिन् ।

नाटक अगस्ट महिनाको २३ बाट ओहायोको एक्रोनमा मन्चन भएर यसको वल्र्ड प्रिमिएर हुनेछ र यसलाई अमेरिकाकै विभिन्न स्थान लगायत विश्वका अन्य देशमा मञ्चन गरिनेछ । नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले वताए ।

अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ । साथै यसलाई सनसाइन तेकवान्दो एण्ड डान्स एकेडेमी लागयतका विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछ । यसको कुल लागत लगभग दुई करोड नेपाली रहेको ह्याप्पीहोम स्टुडियोका निर्देशक जोयश पाण्डे र कार्यकारी निर्माता राकेश भट्टराईले बताए । न्यूयोर्कमा अध्यापन गराउने ताइवानका फिल्ममेकर, निर्देशक चिनआउवाउले पनि यसमा सहकार्य गरेका छन् । यस नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरु जोडिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : ५७ बजे