Logo

विशेष

काँग्रेस महाधिवेशन : २ महामन्त्रीमा १२ जना दावेदार, कसले मार्ला त बाजी ?



काठमाण्डाैँ: नेपाली काँग्रेसको १४ महाधिवेशन मिति सन्निकटमा पुग्दा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । दुई दिनपछि मंसिर २४ गते उद्घाटन हुने काँग्रेस महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने हुँदा आकांक्षीहरूले धमाधम दावेदारी घोषणा गर्न थालेका हुन् । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ ।

तीन समूहमा विभाजित काँग्रेस शेरबहादुर देउवा समुह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहमा विभाजित छ । यो पटक विगतमा देउवासँगै रहेका विमलेन्द्र निधि पनि सभापति दावी गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । यद्यपी कुनैपनि समुहले आफ्नो प्यानल भने बनाइसकेका छैनन् । प्यानल बनाउने र उम्मेदवार घटाउने कसरतमा जुटेका काँग्रेस नेताहरुको दौडधूप जारी रहेकै बेला  काँग्रेसको केन्द्रीय पदाधिकारीमध्ये सभापति र उपसभापति पछिको शक्तिशाली मानिने महामन्त्री पदमा रोचक भीडन्त हुने देखिएको छ । ​

​निर्वाचित हुने दुई महामन्त्री पदका लागि अहिलेसम्म एक दर्जन नेताहरुले दावेदारी पेश गरिसकेका छन् । जसमा संस्थापन पक्षका ६ र इतर पक्षका ५ र सिटौला समूहबाट १ जना छन् । संस्थापन पक्षबाट बालकृष्ण खाण, विश्वप्रकाश शर्मा,डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्कीले महामन्त्रीका दागि दावेदारी पेश गरिसकेका छन् । त्यस्तै संस्थापन इतर पक्षबाट डा। मिनेन्द्र रिजाल, गगन थापा,धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीका लागि दावेदारी पेश गरेका छन् । सिटौला समूहबाट भने प्रदीप पौडेलले महामन्त्रीको दावी गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै केन्द्रीय सदस्य खुल्लातर्फ ३५, प्रदेशतर्फ २१, महिला ९, समावेशी ५४ अल्पसंख्यक २ र थप ३३ जना सदस्यका लागि पनि आकांक्षीहरूले धमाधम उम्मेदवारीको घोषणा हेरिरहेका छन् ।

संस्थापन पक्षबाट महामन्त्रीका दावेदार :

बालकृष्ण खाँण

विश्वप्रकाश शर्मा

डा. प्रकाशशरण महत

रमेश लेखक

एनपी साउद

ज्ञानेन्द्र कार्की

संस्थापन इतर पक्षबाट महामन्त्रीमा दावेदार :

डा. मिनेन्द्र रिजाल

गगन थापा

धनराज गुरुङ

चन्द्र भण्डारी

दीपक गिरी

प्रदीप पौडेल (सिटौला समूह)

को बलियो ?

संस्थापन पक्षबाट ६ जनाले महामन्त्रीमा दावेदारी पेश गरेपनि खाण, शर्मा र महत बलिया उम्मेदवारका रुपमा चिनिन्छन् । त्यस्तै संस्थापन इतरबाट रिजाल, थापा र भण्डारीलाई बलियो उम्मेदवारका रुपमा लिएको काँग्रेसजनमा चर्चा छ । उता सिटौला समूहका पौडेल पनि युवा नेता भएकाले उत्तिकै चर्चामा छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ०९ बजे