Logo

मुख्य समाचार

सुदूरपश्चिमका ६ पहाडी जिल्ला भए बाढीपहिरो सङ्कट क्षेत्र घोषणा



धनगढी: सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिरोले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।

सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले दर्जनौँको मृत्यु भएको थियो भने करोडौंको बालीनाली नोक्सान भएको थियो । बाढी पहिरोले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, दार्चुला तथा डोटीका नागरिकहरु अलपत्र परेका थिए भने कतिपय घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेका छन् ।

सुदूरपश्चिमका नौवटा जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ तथा डोटीमा भएको थियो । बेमौसमी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौंको धनजनको क्षति भएको थियो ।

सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच÷पाँच, बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुईरदुई पालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आली ताल, गन्यापधुरा र परशुराम गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । यसका साथै बझाङका थलारा, बित्थडचिर, खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपी हिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ०५ बजे