Logo

मुख्य समाचार

स्वास्थ्यचौकी नलगी झाँक्रीको भर, रक्तश्रावबाट सुत्केरीको मृत्यु



बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । 

घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले बताईन। चदारका श्रीमान् बिनेले भने “गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।”

गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ । चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ११ बजे