Logo

खेलकुद

मेस्सीको गोलले पीएसजीलाई सहज



एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले  सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले क्लब ब्रुग ४–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सहज जित दिलाउनको लागि लियोनेल मेसी र किलीयन एमबाप्पेल समान २–२ गोल गरे । ब्रुगको लागि माट्स रिट्सले सान्त्वना गोल गरे । 

खेल सुरु भएको दोस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै एमबाप्पेले पीएसजीको अग्रता दोब्बर पारे । खेलको ३७ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । दोस्रो हाफको ६७ अ‍ौं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले एक गोल फर्काए । ७६ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । 

मेसीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले प्रहार गरेका थिए । यो जितसँगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीले ६ खेलबाट ११ अंक जोडेको छ । क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो । म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : २० बजे