Logo

मुख्य समाचार

सभापति उम्मेदवारको टुंगो लगाउन कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन तीनदिन मात्रै बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापति पदका लागि उम्मेदवार टुंगो लगाउने कसरतमा छन् ।

संस्थापन पक्षमा भन्दा धैरै इतर पक्षमा सभापति पदका लागि आकांक्षी धेरै हुँदा सकस देखिएको छ । इतर पक्षका नेताहरु सभापति उम्मेदवार टुंगो लगाउने भन्दै लगातार छलफलमा जुटेपनि आजसम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला नै आकांक्षी छन् । पूर्वमहामन्त्री सिंहले आफू सभापतिका लागि स्वत: उम्मेदवार रहेको भन्दै सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् ।

आज पनि आफ्नो समूहबाट सभापतिमा उम्मेदवार तय गर्न संस्थापनइतर समूहको बैठक बस्दै छ । आज दिउँसो १ बजे पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : २५ बजे