Logo

मुख्य समाचार

मतदान नगरेकोमा शेखरले मागे माफी



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश अधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् । प्रदेश १ को अधिवेशन कोइरालासहितका केन्द्रीय नेताहरूले मतदान गरेका थिएनन् ।

कोइरालानिकट उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि कोइरालाले माफी मागेका हुन् । 

ट्वीटरमार्फत स्पष्टीकरण दिँदै शेखरले केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने भन्ने विषय सुरूदेखि नै संशयमा रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव आएको बताएका छन् ।

उनले लेखेका छन्,कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु’।

उनले आफूबाट भएको कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गर्ने संस्थापनइतर समूहका केन्द्रीय नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले नै मतदान नगरेका हुन् । २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ४५ बजे