Logo

Breaking News 1

जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा



काठमाडौं । आधुनिक प्रविधिहरु भित्रिन थालेपछि नेपालमा मौसमको भविष्यवाणी मिल्ने गरेको मौसमविदहरुको धारणा छ ।

भू–उपग्रह (स्याटेलाइट) बाट प्राप्त बादलका तस्वीरबाट मौसमको पूर्वानुमान गरिन्छ । तर नेपालमा पर्याप्त प्रविधि र जनशक्तिको अभावमा प्रभावकारी काम गर्न नसकेको मौसमविदहरु बताउने गर्छन ।

मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकी इन्चार्ज एवम वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको २४ घण्टाको मौसमको पूर्वानुमान गर्न ठूलो क्षेत्रका डाटा संकलन गर्नुपर्ने बताउँछिन् । मोडल बेस कम्प्युटर प्रोग्राममार्फत पनि डाटा संकलन गरेर मौसमको पूर्वानुमान गर्ने गरिन्छ । तर जनशक्तिको अभाव झेलिरहेको उनले सुनाइन् ।

मौसमको भविष्यवाणी गर्दा मुलुकलाई साधारणतयाः तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा देखा पर्नसक्ने मौसमी गतिविधिलाई ध्यान दिई मौसमको भविष्यवाणी गर्ने गरिन्छ । त्यसका लागि प्रविधिसँगै जनशक्तिको अभाव रहेको उनले जानकारी दिइन् ।

यद्यपी, पूर्वानुमान महाशाखामा नयाँ नयाँ प्रविधिहरु थप्दै गएको र विकास पनि हुँदै गएपनि त्यस अनुसार जनशक्ति पुग्न नसकेको गुनासो मानन्धरको छ । उनले जनशक्तिको कमी भएको कारण एउटा व्यक्तिले धेरैवटा काम हेर्नुपर्ने अवस्था आएको भन्दै यसले गर्दा दिनप्रतिदिन कामको चाप बढीरहेको पनि बताइन् ।

उनले भनिन्, ‘नेपालको सन्दर्भमा भन्नुपर्दा जल तथा मौसम विज्ञान विभाग २०४६ सालमा एउटा सानो शाखाको रुपमा मात्र थियो । अहिले विभागको रुपमा खडा भएका छौं । देशभर नै लगभग आठसय वटा स्टेशनहरु छन् । समग्रमा हेर्नुपर्दा विभागमा दरवन्दी खासै बढ्न सकेको छैन् ।’

महाशाखाले निरन्तर रुपमा नयाँ नयाँ प्रविधिहरु थप्दै गएको र विकास पनि हुँदै गएको सुनाइन । तर त्यो अनुसार जनशक्ति पुग्न नसकेको उनको गुनासो छ । ‘एउटा व्यक्तिले धेरै वटाकाम हेर्नुपर्ने अवस्था छ । यसले गर्दा दिनप्रतिदिन कामको चाप भने बढि रहेको छ,’उनले भनिन् ।

तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरुको काम पनि काठमाडौंबाटै हेर्नुपर्ने भएकाले समस्या भइरहेको सुनाइन । उनले यस्तो समस्याको समाधान चाँडै हुन्छ भन्नेमा आशावादी रहेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : १२ बजे