Logo

मुख्य समाचार

३२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट



१७ मंसिर, काठमाडौं। ३२ मुलुकमा  कोभिड -१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएको छ । शुक्रबार श्रीलंकाका पनि स्वास्थ्य अधिकारीले एक जनामा ओमिक्रोन पुष्टि भएको बताएका छन् । हालै दक्षिण अफ्रिकाबाट फर्किएका एक श्रीलंकालीमा ओमिक्रोन पुष्टि भएको अधिकारीहरूको भनाइ छ। यसअघि बिहीबार भारतको कर्नाटक राज्यका २ जना पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये एसियामा जापानसहित भारत, श्रीलंका, मलेसिया, इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ ।  युरोपमा १२ वटा मुलुकमा  फेला परेको छ । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।

सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ११ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हिजोको भन्दा ८ हजार ५ सयले बढी हो ।

नयाँ ओमिक्रोन भेरियन्टका कारण मुलुक कोभिड संक्रमणको चौथो लहरमा प्रवेश गरेको दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले  बताएका छन् । तर हाल अस्पतालसामु जोखिम उत्पन्न नभएको उनको भनाइ थियो ।

जो फाहलाले धेरै मानिसको ज्यान जाने अवस्था आउनुपूर्व नै ओमिक्रोन भेरियन्टको व्यवस्थापन हुने विश्वास समेत व्यक्त गरेका छन् । उनका अनुसार दक्षिण अफ्रिकाका ९ मध्ये ७ वटा प्रान्तमा ‌ओमिक्रोन फैलिइएको छ ।

साथै, फाहलाले मानिसहरूलाई खोप लगाउन समेत आग्रह गरेका छन् । यसैबीच, दक्षिण अफ्रिकाकी एक वरिष्ठ चिकित्सकले हालसम्मको अवस्था हेर्दा ओमिक्रोन भेरियन्ट घातक नदेखिएको बताएकी छन् ।

‘प्रारम्भिक अवस्था हेर्दा ओमिक्रोन घातक देखिँदैन’, साउथ अफ्रिकन मेडिकल एशोसिएशनकी अध्यक्ष डा. एन्जेलिक कोएटजीले अलजजिरासँग कुरा गर्दै भनिन्, ‘यो तीव्र रुपमा फैलिइरहेको तर हामीले देखेका लक्षण सामान्य छन् ।’

कुन संक्रमितमा गम्भीर समस्या देखिने भनेर थाहा नहुने भएकाले चिन्ता गर्नुपर्ने अवस्था रहेको कोएटजीको भनाइ थियो ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट दक्षिण एसियाका २ मुलुकमा समेत फेला परेका छन् । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४९ बजे