काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।
त्यस्तै राष्ट्रियसभाको आजकाे बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया