Logo

मुख्य समाचार

आजबाट मतदाता नामावली संकलन हुँदै, बसेकै ठाउँबाट नामावली दर्ता हुने



काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ ।

मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ । मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने र  सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ४९ बजे