Logo

मुख्य समाचार

हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।

काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे ।

उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्दैन होला भन्ने धेरै हल्लाहरु सुनिएको थियो, यो भन्दाभन्दै आज डेढ वर्ष भइसकेको छ, म बसिरहेकै छु । मैले जे अवस्थाहरु देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । हामीले गरेका समझदारीहरु इमानदार भएर निभाएका छौ, त्यसकारण आज केही हुन्छ भोलि के हन्छ भन्ने कुरा बेकार हो । त्यतातिर दिमाग लानै पर्दैन ।’

उनले जनवादी क्रान्ति जस्तो लामो अवधि नभए पनि तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुने विश्वास लिएको बताए ।

उनले भने, ‘समाजवाद नेपाली विशेषताको समाजवाद कस्तो हुने भन्ने कुरामा अझै अन्तिम निष्कर्ष सम्म पुग्न वैचारिक मन्थन र बहसको बीचबाट जानुपर्ने छ । हामीले विचार अध्ययन, अनुसन्धान, चिन्तन मननको यो एउटा बाटो, हिँड्नुपर्ने छ तर मलाई के विश्वास छ भने छिटै नै जनवादी क्रान्ति जस्तो लामो अवधि होइन्, तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुनेछ । र, त्यो विजयी हुँदै अगाडि बढ्ने छ भन्ने विश्वास लिएको छु ।’

देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै नयाँ राष्ट्रिय एकताको परिकल्पना गरेको भन्दै उनले त्यसका लागि उत्पीडनमा परेका दलित, महिला र मुस्लिमहरुलाई विशेष अधिकारको व्यवस्था हुनुपर्ने मान्यताका साथ अघि बढ्ने बताए ।

उनले भने, ‘देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै यो देशको नयाँ राष्ट्रिय एकताको परिकल्पना भएको हो । नयाँ राष्ट्रिय एकताको लागि सबै उत्पीडित जातिहरुलाई अधिकार दिन तयार हुनुपर्छ भन्ने मान्यता हामीले अगाडि सारेको हो । त्यसमा पनि सबैभन्दा बढी सामन्ती राज्यबाट विभेदमा पारिएका दलित, महिला र मुस्लिमहरुलाई विशेष अधिकारको व्यवस्था हुनुपर्छ भन्ने मान्यता पनि हामीले अघि सारेको हो । ती मान्यताहरुलाई तीव्र रुपमा अगाडि बढाउन नसकेको अवस्था थियो तर, अब त्यसलाई अगाडि बढाउने अवस्था आएको छ ।’

सरकार, सदन र सडकको तर्फबाट फेरि नयाँ उचाइबाट आन्दोलन अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले मोर्चाहरुलाई बलियो बनाएर अभियानको रुपमा अगाडि लाने क्रममा रहेको पनि भनाइ राखे ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ५ : १४ बजे