Logo

मुख्य समाचार

राप्रपाको एकता महाधिवेशनमा कमल थापाको प्यानल घोषणा



काडमाडौ । राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले आफ्नो प्यानल घोषणा गरेका छन् । बिहीबार राति थापाले आफ्नो तर्फबाट उठ्ने उम्मेदवारहरू घोषणा गरेका हुन् ।थापाको प्यानलमा उनीसँगै उपाध्यक्षमा पूर्वमन्त्री बुद्धिमान तामाङलाई राखेका छन् । एक महिलासहित चार उपाध्यक्षमा थापाले पूर्वआइजिपी ध्रुवबहादुर प्रधानलाई राखेका छन् ।

उपाध्यक्षमा थापाले पूर्वमन्त्री विक्रम पाण्डेलाई राखेका छन् । पाण्डेलाई भने अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पनि प्यानलमा राखेका छन् । यसैगरी, थापाले आफ्नो समूहमा महिला उपाध्यक्षमा रोशन कार्कीलाई राखेका छन्।

तीन महामन्त्री पदमा थापाले भाष्कर भद्रा, भुवन पाठक र महिलामा कुन्ती शाहीलाई उम्मेदवार बनाएका छन् । राप्रपा अध्यक्ष थापाको पक्षमा राप्रपाका ‘हस्ती’हरूले समर्थन गरेका छन्। त्यसमा अध्यक्षमध्ये पशुपतिशमशेर जबरा, पूर्वमन्त्री दीपक बोहरा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उनका छोरा जयन्त चन्दलगायत छन् ।

यसैगरी, थापाको पक्षमा सात प्रदेशमध्ये राम थापा – १, भरत गिरी – २, विक्रमबहादुर थापा – बागमती, प्रदीप उदय – लुम्बिनी, दीपबहादुर शाही – कर्णाली र धर्मराज जोशी – सुदूरपश्चिम खुलेका छन्। बिहीबार बेलुका सार्वजनिक गरिएको मतदाता सूचीमा अधिकांश थापाको पक्षमा रहेको दाबी गरिएको छ।

राप्रपाको एकता महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा जारी छ। राप्रपा महाधिवेशनका लागि चार हजार चार सय ७१ जनाको मतदाता नामावली प्रकाशित गरिएको छ। राष्ट्रिय सभागृहमा बिहीबार राति मतदाताको सूची सार्वजनिक गरिएको छ।

यो सूचीमा  निर्वाचन समितिले दाबी विरोधका लागि शुक्रबार बिहान ११ बजेसम्म समय छुट्याएको छ। दाबी विरोध सकिएपछि मतदाता नामावलीको अन्तिम प्रकाशन गरिने छ।

११ बजेभित्र दाबी विरोध सकेर अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि साढे ११ बजेबाट उम्मेदवारको दरखास्त आह्वान गरिने छ। यो क्रम साढे १ बजेसम्म जारी रहने छ । त्यसपछि उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ । अपराह्न ५ बजेसम्म दाबी विरोध र फिर्ताको समय तय गरिएको छ।

५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ। उम्मेदवारको अन्तिम सूची प्रकाशनसँगै शुक्रबारका लागि सबै कार्यक्रम सकिने छन् । त्यसपछि शनिबार बिहानबाट मतदानको कार्यक्रम राखिएको छ।

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्। सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५१ बजे