Logo

समाचार

‘केपी ओलीले संविधान संसोधन गर्न दिएनन्’: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण संविधान संसोधन हुन नसकेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूले दुई पटक संविधान संसोधनका लागि प्रयास गरेपनि ओलीले रोकेको आरोप लगाएका हुन् । 

‘मैले पहिले नै संविधान संशोधनको प्रस्ताव अघि सारेको थिएँ। संघीयता विरोधीहरूले संशोधन गर्न रोक लगाउने एमाले नेता केपी ओली नै हो’, उनले भने ।

प्रचण्डले अहिले पनि एमालेको केपी ओली गुट मधेस, महिला, जनजातिलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरे ।

परिवर्तनको रक्षा गर्दै जनताको हक, अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

माओवादी कमजोर भयो भने संविधान मिच्ने च्यात्ने, गणतन्त्र नै उल्टाउन खोज्नेहरू सक्रिय हुने भन्दै प्रचण्डले राष्ट्रिय एकताको रक्षाको लागि माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प नभएको जिकीर गरे । 

यसअघि पनि आफूहरूले प्रतिगमनलाई असफल बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याएको उनको भनाई रहेको थियो । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५२ बजे