Logo

समाचार

जब यात्रुले जहाज धकेले…(भिडियाे)



बाजुरा । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको सबैले देखेका छौं । तर बुधबार बाजुराकाे कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । 

जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन । 

जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थाले । विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकापसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भने, ‘विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ ।’ त्यो जहाज थियो तारा एयरलाइन्सको । सो जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्काे जहाज अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीइको जहाजलाई यात्रुले धकेलेर सुरक्षित स्थानमा राखेपछि अर्को जहाज अवतरण भएको थियो । 

 तारा एयरलाइन्सको उक्त जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र सो जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल बनेको छ । कोल्टीबाट धनगढी जाने यात्रु खगेन्द्र खड्काका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि हामीले धक्का लगाएर उक्त जहाजलाई साइड लगाएको बताए। उनका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो । 

धावनमार्गबाट जहाज हटाएपछि आफू बुधबार नै अर्को जहाज चढेर धनगढी आइपुगिसकेको उनले बताए। जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएको खड्काको भनाइ छ ।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीइ जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ । यस विषयमा बुझ्न कोल्टी विमानस्थलमा फोन गर्दा त्यहाँ सम्पर्क हुन सकिरहेको छैन । (प्रेम राैले, रासस)

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०५ बजे