Logo

स्वास्थ्य

जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट लाभ



बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा दुई दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । 

‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा एक सयभन्दा बढी सहभागी थिए । स्थानीय घुम्टे युवा परिवारसँगको सहकार्यमा धवलागिरि आयुर्वेद औषधालयले आयोजना गरेको उक्त प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोजकुमार रायले योग र ध्यानका बारेमा प्रशिक्षित गरेका थिए । 

रायले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाएका थिए । सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताए । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुशी र आनन्दमयी बन्ने उनको भनाइ थियो । 

प्रशिक्षणमा ज्येष्ठ नागरिक बढी सहभागी थिए । सहभागीलाई उच्च रक्तचाप, मधुमेह र बाथरोगमा प्रयोग हुने आयुर्वेदिक औषधिसमेत वितरण गरिएको थियो । पछिल्लो समय खानपान, तनाव, चिन्ता इत्यादि कारणले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले योग प्रशिक्षण दिइएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए । 

प्रशिक्षण शिविरका लागि संस्थाका पूर्वउपाध्यक्ष एवं नेपाल भलिबल सङ्घ जापानका सदस्य तुलवीर थापाले आर्थिक सहयोग गरेका थिए । योगसँगै आयुर्वेद चिकित्साको महत्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रूपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधालय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताइन । प्रशिक्षणका लागि वडा कार्यालयले स्थानीयरूपमा समन्वय गरेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ५७ बजे