Logo

मुख्य समाचार

एमाले महाधिवेशन : अध्यक्षमा ओली-रावल भिड्दै



काठमाडाैं । एमालेकाे दसाैं महाधिवेशनमा अध्यक्षका लागि केपी ओली र भीम रावलले भिड्दैछन् । सर्वसम्मतिको नाममा प्रतिनिधिलाई विवेक प्रयोग गर्न नदिइ पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको हाे । 

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि रावलले असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि महाधिवेशनमा अध्यक्ष पदका लागि पनि निर्वाचन हुने स्थिति आएको हो ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ । आइतबार मध्यराति नै रावलले फारम लगेर भरिसकेका जनाएका छन् ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेका पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा पनि चुनाव हुनेछ । नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । भुषालले उम्मेदवारी दिए उपाध्यक्षका लागि पनि निर्वाचन हुनेछ । यसबाहेक केन्द्रीय सदस्यमा पनि कसैकाे उम्मेदवारी परे त्यसका लागि पनि निर्वाचन हुनेछ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ४६ बजे