काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको यो फिल्म मङ्गलबारबाट सिनेमाघर एपमा रिलिज भएको हो । विश्वभरका दर्शकले एपमार्फत यो फिल्म हेर्न सक्नेछन् ।
२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि रिलिजमा पुनः समस्या आएको थियो ।
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ ।
सस्पेन्स–थ्रिलर जनरामा बनेको फिल्मका निर्माता अर्जुन कुमार हुन् । यो फिल्म ‘चपली हाइट’को तेस्रो श्रृङ्खला हो ।
यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’ जस्ता फिल्म रिलिज भइसकेका छन् ।
यो एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।
‘चपली हाइट ३’ हेर्न दुई सय रुपैंयाँ तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ ।
प्रतिक्रिया