Logo

Breaking News 1

कोसी र वाग्मती प्रदेशमा बिहानैदेखि वर्षा, देशभर चट्याङ र हावाहुरीसहित बदली रहने



काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदली छ । गण्डकी प्रदेशका थोरै स्थानमा साथै कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ११ बजे