Logo

विशेष

चिनियाँ नयाँ वर्ष र वसन्त चाड नेपालमा धुमधाम



काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको उपलक्ष्यमा नेपालमा सामान्य कार्यक्रम गर्ने पुरानै प्रचलन हो । तर यसपाली चिनियाँ सरकारले नयाँ बर्षको अवसरमा बृहत कार्यक्रमको शुरुवाता गरेको छ । यसै अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना पनि गरिँदैछ ।

वुधवार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालिएको छ । साँझ ५ बजे चिनियाँ दीप (रातो लाल्टिन) प्रज्वलनको उदघाटन पर्यटनमन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले गरेका थिए । संभवत नेपालमा उक्त कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रमकै सिलसिलामा शुक्रबारदेखि विभिन्न स्थानमा डगन, सिंह र किरिन नृत्य प्रस्तुत गरिंदैछ । शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म ठमेलमा, शनिबार बिहान १० देखि १२ बजेसम्म दरबारमार्गस्थित महेन्द्रको शालिकमा र आगामी बुधबार हाँडीगाउँ गहनापोखरीमा नृत्य देखाइने तालिका छ ।

सोही दिन साढे १ देखि ३ बजेसम्म भक्तपुर दरबार स्क्वायर, साढे ४ देखि ६ बजेसम्म पाटन दरबार स्क्वायरमा नयाँ वर्षको उपलक्ष्यमा डगन, सिंह र किरिन नृत्य देखाइने नेपालस्थित चिनियाँ दूताबास स्रोतले जनाएको छ ।

शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा नेपाल-चीनबीच मैत्री फुटबल प्रतियोगिता पनि राखिएको छ । सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिँदै छ । महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत हुने छ ।

बुधबारको कार्यक्रम सम्बोधन गर्ने क्रममा राजदूतले छन् सोङले अरुको घरको बत्ती निभाएर आफ्नो घर उज्यालो नहुने बताए । त्यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ३५ सय बर्षदेखि मनाउन थालिएको बसन्त चाडको इतिहास र दुई मुलुकबीचको घनिष्ठ मैत्रीपूणर् सम्बन्धबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १२ : ५८ बजे