Logo

विश्व

पूर्वराष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकी सिमा विपत्ती पर्खिरहेको छ’



काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिका–मेक्सिको सीमानामा भइरहेको सम्झौताले विपत्ति ल्याउन सक्ने लेखेका छन् ।

उनले अमेरिकाको दक्षिणी सीमालाई विश्वको इतिहासमा सबैभन्दा खराब भएको भन्दै अमेरिकामा ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘तीन वर्षअघिसम्म हाम्रो सिमाना अमेरिकाको इतिहासमा सबैभन्दा बलियो र सुरक्षित थियो । आज विपत्ति पर्खिरहेको छ । यी विश्वको इतिहासमा सबैभन्दा खराब सिमाना हुन् र हाम्रो देशका लागि खुला घाउ जस्तै छन्‘। ट्रम्पले लेखेका छन्, ‘विश्वभरका आतंककारीहरू बिना छानबिन हाम्रो देशमा प्रवेश गरिरहेका छन् । अमेरिकामा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने शतप्रतिशत सम्भावना छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदमा अमेरिका–मेक्सिको सीमामा भएको सम्झौताको बारेमा कुरा गरिरहेका छन् । योसँगै ट्रम्पले रिपब्लिकन पार्टीका सांसदहरूलाई कुनै पनि सम्झौतामा सहभागी नहुन अपिल गरिरहेका छन् ।

ट्रम्पले नराम्रो सम्झौताभन्दा कुनै सम्झौता नहुनु राम्रो भएको बताए । डोनाल्ड ट्रम्पले गैरकानुनी रुपमा अमेरिका आउने शरणार्थीलाई लिएर जो बाइडेनलाई घेरा हालेका छन् ।

यो वर्ष नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावमा अवैध शरणार्थीको मुद्दा सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ । यही कारणले गर्दा ट्रम्पले यस विषयमा जो बाइडेनको सरकारविरुद्ध जेहाद छेड्न कुनै मौका छोड्न चाहँदैनन् ।

बाइडेनलाई पनि यो थाहा छ, त्यसैले उनले आफ्नो एउटा वक्तव्यमा कंग्रेसले सहमति गरेमा अमेरिका–मेक्सिको सीमा पूर्ण रूपमा बन्द गर्न तयार रहेको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : २४ बजे