Logo

मनोरञ्जन

गायनमा परिणीति, दिँदैछिन् पहिलो लाइभ प्रस्तुति



काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगितिक लाइभ गर्ने भएकी छन् । उनले आइतबार आफ्नो इन्स्टाग्राम हेण्डलमा गीत गाउने अभ्यास गर्दै गरेको भिडियो क्लिप राख्दै आफू त्यसका लागि तयारी अवस्थामा रहेको जनाउ दिएकी हुन् ।

भिडियोमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ । दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ । ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’,उनले क्लिपसँगै क्याप्सन लेखेकी छन् ।

गत जनवरी २५ मा उनले संगीतको दुनियाँमा पाइला चाल्ने घोषणा गरेकी थिइन् । उनले यो निर्णय आफ्ना लागि एक नयाँ अध्याय भएको र संगीत यात्राका लागि आफूले भाग्यशाली महशुस गरेको बताएकी थिइन् । उनले सन् २०१७ मा फिल्म ‘मेरी प्यारी बिन्दु’ लागि गाएको गीत ‘माना के हम’को एक भिडियो शेयर गर्दै आफू गायन क्षेत्रमा आएको घोषणा गरेकी थिइन् ।

सन् २०११ मा फिल्म ‘लेडीज वर्सेज रिकी बहल’बाट अभिनयमा पाइला चालेकी परिणीति पछिल्लोपटक अक्षय कुमारका साथ फिल्म ‘मिसन रानीगन्ज’मा देखिएकी थिइन् । उनको आगामी फिल्म ‘चमकिला’ हो । यो फिल्ममा उनी दिलजीत दोसांझका साथ देखिँदैछिन् । यो फिल्म पञ्जाबमा आधारित छ ।

जहाँ दिलजीतले अमर सिंह चमकिलाको भूमिका निभाएका छन् । परिणीति उनकी साथी अमरजोतको भूमिकामा छिन् । जसलाई सन् १९८८ मा उनका व्याण्डका दुई सदस्यसँगै गोली हानी हत्या गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : ४३ बजे