Logo

विशेष

भ्रमण वर्षका लागि चितवन निकुञ्जमा तयारी धमाधम



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ का लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षका लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि तयारी तीव्र पारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रका सामुदायिक वन, बाटुली पोखरी, किङफिसर ताल, बिसहजारी तालमा सरसफाईको काम भइसकेको छ ।

भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँका जीप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ । निकुञ्जका सूचना अधिकारीसमेत रहेका अधिकृत तिवारीले पर्यटकीय स्थलमा नक्सा पनि राख्ने काम पनि गरिएको जानकारी दिए ।

ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रमअनुसार काम अघि बढाइएको तिवारीले बताए ।

मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्धार सिँगार्ने काम गरिएको छ भने निकुञ्जको मुख्यालय कसरामा सरसफाई र रङ रोगनका काम गरिएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।

भ्रमण वर्षमा भरतपुर आउने पर्यटकलाई निकुञ्जभित्र सहज घुमघामका लागि व्यवस्थापन भइरहेको छ । निकुञ्ज जीप तथा हात्ती सफारीका लागि प्रख्यात छ ।

यस्तै भरतपुर–६ देवनगरको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्नेगरि बनाइएको खोरको  तयार भएको निकुञ्जले जनाएको छ । उद्धार केन्द्रकै कम्पाण्डमा गैंडालाई राख्न मिल्ने  तारघेराको काम अहिले भइरहेको छ । निकुञ्जको वन क्षेत्रमा पर्यटकले पाटे बाघ र गैंडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उद्देश्यले चिडियाघर शैलीमा उद्धार केन्द्र निर्माण गरिएको हो । फागुनको पहिलो साता केन्द्रको नयाँ खोरमा बाघ राख्ने निकुञ्जको तयारी छ । 

निकुञ्जले टिकटलाई अनलाइन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्राचार गरिएको जनाएको छ । भ्रमण वर्षमा पर्यटकको चाप बढ्दा प्रवेश टिकट काट्न असहज हुने अनुमानका साथ अनलाइन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०६ बजे