Logo

विश्व

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि



काठमाडौं । भारतको ७५ औं गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् ।

२६ जनवरीका दिन दिल्लीमा हुने समारोहको तयारी भइरहेको छ । फ्रान्सका राष्ट्रपति प्रमुख अतिथिका रुपमा आउने भएपछि गणतन्त्र परेडका लागि भएको रिहर्सलमा फ्रान्सेली सेनाले पनि भाग लिएको छ ।

भारतको रक्षा मन्त्रालयका अनुसार यस पटकको परेडमा फ्रान्सेली सेनाका ९५ जनाले मार्च पास गर्दा ३३ जना सैनिकले ब्यान्ड प्रस्तुत गर्ने छन् । यसैगरी फ्रान्सेली वायुसेनाको राफेल जेट र मल्टिरोल ट्याकंर ट्रान्सपोर्ट विमान पनि समावेश हुनेछ ।

फ्रान्सेली नेता गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि हुन लागेको यो छैटौं पटक हो । यस वर्ष भारत र फ्रान्सले भारत–फ्रान्स रणनीतिक साझेदारीको २५औं वार्षिकोत्सव पनि मनाउने छन् ।

भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबिचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा नजिकबाट सहयोग गरिरहेका छन् ।

गणतन्त्र दिवसको परेडमा १६ राज्य र केन्द्र शासित प्रदेशहरू, नौ मन्त्रालय साथै विभागहरू समावेश हुनेछन् । यस पटकको गणतन्त्र दिवसको नारा नारी शक्ति रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३५ बजे