Logo

Breaking News 1

लोकतन्त्रको विकल्प परिस्कृत लोकतन्त्र : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्र नै भएको बताएका छन् ।

४८औं मेलमिलाप दिवसका अवसरमा पार्टीद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु व्यवस्था नभएको भन्दै यस विषयमा सबै पार्टीको बीचमा एउटै सहमति र धारणा रहेको बताए ।

उनले भने, ‘लोकतन्त्रको प्रतिस्पर्धामा अझै राम्रो लोकतन्त्र बनाउनु बाहेक विकल्प छैन । त्यसकारण यस सम्बन्धमा लोकतन्त्रको विकल्प खोज्नु भनेको हुनै नसक्ने कुरा हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यस विषयमा हामी सबै एकता भएर जानुपर्छ । यस विषयमा हामी सबै पार्टीको बीचमा एउटा सहमति छ, एउटा धारणा छ, त्यो नै एकदमै महत्वपूर्ण छ । बीपीले दिएको सन्देश र बाटो पनि यही नै हो ।’

यस्तै, नेपालमा पार्टीहरुका बीचमा जति नै प्रतिस्पर्धा भए पनि बोलीचाली, मेलमिलाप र भाइचाराको वातावरण निकै कम मुलुकहरुमा हुने दाबी गर्दै उनले यो राम्रो पक्ष भएको पनि बताए ।

उनले भने, ‘अहिले अवस्थामा अत्यन्तै आवश्यकता छ, सानो देश हो हाम्रो । यो देशमा पार्टीगत मतभेद, प्रतिस्पर्धादेखि लिएर आफ्ना कुराहरु छन् । त्यही पनि नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक स्थानमा बस्ने हाम्रो देशमा जुन संस्कार बनेको छ, सायद धेरै कम देशमा यस्तो हुन्छ । प्रतिस्पर्धा भए पनि हाम्रो बीचमा बोलीचाली, मेलमिलाप र भाइचाराको जुन वातावरण छ, त्यो धेरै कम देशमा हुन्छ ।’

अनेक किसिमको बहाना गरेर लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा वातावरण बनाउने प्रयास भएको वर्तमान अवस्थामा सबै एक हुन आवश्यक भएको भन्दै बीपीले देखाएको बाटो पनि यही नै रहेको भनाइ उनले राखे ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : ४२ बजे