Logo

Breaking News 1

बालकुमारी घटनामा अध्यक्ष नेपालले गरे मन्त्री ज्वालाको बचाउ : उहाँ फँस्नुभएको हो



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालाको बचाउ गरेका छन् ।

सोमबार काठमाडौंमा कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वाला सरकारी कामकाजको सिलसिलामा जाँदा फसेको भन्दै कुनै दोष नरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘बालकुमारीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो । हामी बैठकमा व्यस्त थियौं । थाहा भएन । त्यसपछि उहाँ अरु कुनै होइन सरकारी कामकाजको सिलसिलामा बैठकबाट बाहिर निस्किनु भएको थियो, त्यहाँ फस्नुभएको हो । सूचनाको कुनै अभाव रहन पुग्यो फलस्वरुप त्यो घटना घटेको हो । यसलाई अन्यथा नलिनु होला । प्रष्ट पार्नुपर्ने भएर भनेको हुँ । पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’

गत शुक्रबार बालकुमारीमा मन्त्री ज्वाला सवार गाडीमा आगजनी र तोडफोड भएको थियो । घटनामा प्रहरीको गोली र बल प्रयोगबाट दुई युवकको ज्यान गएको थियो । घटनापछि संसदीय समितिले मन्त्री ज्वालामाथि अनुसन्धानको माग उठाएको छ ।
त्यस सन्दर्भमा अध्यक्ष नेपालले आफ्नो दलबाट मन्त्री बनाइएका नेता ज्वालाको बचाउ गरेका हुन् ।

नेता नेपालले कार्यक्रममा नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफ्नो मनमा चिसो पसेको बताए । राजावादीले टाउको उठाइरहेका बेलामा कांग्रेसले मेलमिलापको कुरा गर्दा राजासँगको सहकार्यका लागि त होइन भनेर आफ्नो मनमा चिसो पसेको बताएका हुन् ।

अध्यक्ष नेपालले भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र समृद्धि दिन नसक्ने बताए । भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हुने उनको भनाइ छ ।

उनले भने, ‘भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र समृद्धि दिन सक्दैन । त्यसकारण भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने हामीले अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हो ।’
उनले वर्तमानका चुनौतीलाई चुनौतीको रुपमा लिन नसके सामना पनि गर्न नसकिने बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : ३६ बजे