Logo

Breaking News 1

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँग सीआइवीले वयान नलिने करिब निश्चित



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर वावुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान व्यूराले वयान नलिने करिब निश्चित भएको छ ।

अनुसन्धानका लागि ६० दिनको समय पाएको सीआइवीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेकाले नेपाल र भट्टराईसँग वयान नलिने करिब निश्चित भएको हो ।

ललिता निवास जग्गा प्रकरणमा असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगाएतलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको ६० दिनभित्र अर्थात् भदौ ८ गतेभित्र अदालतमा मुद्दा दायर हुनुपर्ने व्यवस्था छ ।

सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्दा तयार गर्न कम्तीमा ५ दिनको समय आवश्यक हुने भएकाले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारीमा सीआइवी रहेको छ । तर अब अनुसन्धानका लागि सीआइवीसँग समय समेत नभएकाले नेपाल र भट्टराईसँग वयान नलिने करिब निश्चित भएको हो ।

सर्वोच्च अदालतले निर्णयकर्ता अर्थात् नेपाल र भट्टराईलाई पनि अनुसन्धान गर्न निर्देशनात्मक आदेश दिएको थियो । सीआइवीले भने भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत नेपाल र भट्टराईविरुद्ध मुद्दा दायर नगरेकाले वयान नलिने निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ५९ बजे