काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणबारे छानविनका लागि उच्चस्तरिय समिति गठन नभएसम्मका लागि संसद अवरोध कायमै राख्ने औपचारिक निर्णय गरेसँगै प्रतिपक्षी मोर्चामा एक्लिने निश्चित भएको छ ।
यसअघि प्रतिपक्षी मोर्चामा एमालेलाई रवि लामिछाने नेतृत्वको रास्वपा र राप्रपाले समेत साथ दिएका थिए । यहाँसम्मकी रास्वपालाई एमालेको स्याटेलाइट पार्टीका रुपमा अर्थ लगाउन थालिएपछि सभापति समेत रहेका सांसद रवि लामिछानेले आफ्नो दलको संसदमा वेग्लै अस्तित्व रहेको भन्दै रचनात्मक प्रतिपक्षी दलका रुपमा रास्वपा रहेको बताएका थिए ।
तर अहिले भने एमालेको निरन्तरको अवरोधपिछ रास्वपा सांसदहरुले नै दर्ता गरेका जरुरी सार्वजनिक महत्वका प्रस्तावदेखि संकल्प प्रस्ताव मात्रै होइन, दर्जनौ विधेयक अड्किएको, बाढी पहिरो लगाएतका विषयमा संसदमा बोल्न समेत एमालेका कारण नपाएको भन्दै रास्वपा र राप्रपा एमालेसँग असन्तुष्ट छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरुद्ध गरेपछि रास्वपा सभापति रवि लामिछानेले संसद बैठकमै आपत्ति जनाएका थिए । संसद बैठकमा बोल्न सभामुखले समय नदिएपछि उनले संसद परिसरमै सभामुखका कारण संसद् ‘हाइज्याक’ भएको टिप्पणी समेत गरेका थिए ।
एमालेको अवरोधका कारण बैठक बस्न नसकेपछि रास्वपाले अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने व्यवस्था कार्यान्वयन गरिदिन सभामुखलाई पत्र नै लेखेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफलमा रहेको र एमालेसँगै प्रतिपक्षी मोर्चामा देखिने राप्रपा समेत यसपालि मौन छ सुन तस्करी प्रकरणमा एमालेको मागअनुसार समिति गठन हुनुपर्ने विषयमा राप्रपाले धारणा सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया