काठमाडौं । युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ र स्पिनर सन्दीप लामिछानेको अलराउण्डर प्रदर्शनमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेको छ ।
जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।
सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नटआउट रहे । ६३ रनमै ६ विकेट गुमाएको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर तथा विकेटकिपर अर्जुन साउदलाई एक रनमा गुमाएको थियो । ४ महिनापछि राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका अनुभवी व्याट्सम्यान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए ।
युएईका मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । जुनैद सिद्दिक, अली नासिर, सन्चित शर्मा र रोहन मुस्तफाले समान एक विकेट लिए ।
त्यसअघि युएईले ४६ दशमलव ५ ओभरमा १ सय ८१ रनमा अल आउट हुँदै १८१ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसीले ३ विकेट लिदा प्रतिश जिसी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया