Logo

Breaking News 1

प्रधानमन्त्रीले भने– ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ, ऋण लिएर तिर्दिनँ भन्नेप्रति कठोर छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए ।

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ प्रधानमन्त्रीले भने ।

अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको बताए । ‘विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महसुस हुँदै छ । अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ,’ प्रधानमन्त्रीले भने, ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दै छु । हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन । सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’

प्रधानमन्त्री दाहालले भूकम्प, कोरोना, रूस र युक्रेन युद्धको कारण अर्थतन्त्रमा समस्या आएको दाबी समेत गेर । ‘अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन्,’ प्रधानमन्त्रीले भने, ‘यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्धलगायतका कारण छन् । आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।’

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ४३ बजे