Logo

विचार

प्रशासकहरु भित्र दबिएको विज्ञता !



कसैको विज्ञता अर्कोलाई गाली गरेर बितेको छ । तर यो ऊर्जा सुशासन, सम्वृद्धि र विकासमा उपयोग हुनै सकेन । यो आजसम्मको राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो असफलता हो ।

संजय बारूद्वारा लिखित पुस्तक “The accidential prime minister ” मा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आकर्षक व्यक्तित्व र राजनीति, कर्मचारीतन्त्रले उनलाई गरेको तटस्थ र प्रतिबद्ध सहयोगको यथार्थ चित्रण गरिएको छ । प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार हुन संजय बारू । पुस्तकले अन्य बिज्ञ सल्लाहकारको भुमिका, प्रतिपक्ष दलहरूको सोच र व्यवहारले पहिले देश, अनि मात्र नीति र राजनीतिक दल भन्ने विषय यथार्थमा भारतको उच्च राजनीतिक सोचलाई चित्रण गर्छ । प्रधानमन्त्री मनमोहन सिंहको सत्यनिष्ठा बुझ्ने कर्मचारितन्त्र आलोचनात्मक पनि छ । तर राजनीतिसँगको सम्बन्धमा कहिँकतै स्वार्थ देखिँदैन । राजनीतिसँग सोच हुन्छ । तथ्य कर्मचारीसँग । तथ्यले सोचलाई विश्लेषणात्मक बनाउँछ र रणनीतिक नतिजा ल्याउँछ । राजनीति र कर्मचारीको असल सम्बन्ध यही हो । प्रधानमन्त्री, मन्त्रीज्यूहरुलाई निस्वार्थ सल्लाह र विज्ञता उपलब्ध गराएमा आलोचनात्मक विरोधीहरुलाई अनुकूल बनाउन सकिन्छ भन्ने उदाहरण पुस्तकमा छ ।

कर्मचारीतन्त्रको व्यवहार र राजनीति प्रतिको विश्वासले मात्र शासनमा स्थिरता र नतिजा लिन सकिन्छ । भारतको राजनीतिमा यो विषय स्थापित भइसकेको छ । हाम्रोमा कर्मचारीतन्त्र बिज्ञ छ । अहिले त विदेशका विश्वविद्यालयबाट प्रमाणपत्र नलिएका कर्मचारी कमै भेटिन्छन् ।

लोकसेवाको कठोर प्रतिस्पर्धाबाट आएका कर्मचारीहरु तत्काल निर्णय गर्न र crisis management गर्न खप्पिस छन । विदेशका विभिन्न confrence हरुमा कर्मचारीहरूको प्रस्तुति आदरणीय देखिन्छ । कर्मचारीले चाहे भने उनीहरूको विज्ञता प्रयोग गर्न सक्छन् तर राजनीतिक सोच र दृष्टिकोणमा कर्मचारीतन्त्र योग्य किन हुन सकेन । महत्वपूर्ण प्रश्न यही हो । नेपालको राजनीतिक नेतृत्व योग्य कर्मचारीबाट अयोग्य काम गराउन रुचाउँछ । कर्मचारीतन्त्रको एउटा गुनासो आफ्नो विज्ञताको उपयोग भएन भन्ने पनि छ । कर्मचारीतन्त्रले राजनीति स्वार्थसँग आफ्नो योग्यता घुलनशील गराउनै सकेन। किनकि अस्थिर राजनीतिले स्थायी प्रकृतिको विज्ञता खोजेकै छैन । पाटी र दलप्रतिको निष्ठा भएको कर्मचारीतन्त्रको विज्ञता उपयोगमा मात्र सीमित छ । यही सीमित घेरामा बिस्तारै कर्मचारीतन्त्र रमाउदै छ । तर कर्मचारीतन्त्रको सीमित उपयोगबाट राजनीतिले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । यो चेत अझै राजनीतिक नेतृत्वमा पलाइसकेको छैन । जबसम्म कर्मचारीतन्त्र र राजनीतिमा भावनात्मक एकता हुँदैन दुवैको विज्ञता उपयोग गर्न कठिन छ । अहिलेको नेपालको सुशासनको अवस्था हेर्दा यसको थप व्याख्या गरिरहनु पर्दैन ।

प्रशासक व्यक्ति नभएर गुण हो । हाम्रोमा कर्मचारी र प्रशासक एउटै जस्ता लाग्छन् । तर असल व्यवस्थापकीय गुण प्रशासकमा हुनुपर्छ । कर्मचारीको गुणको परीक्षण लोकसेवाको परीक्षाबाट हुनसक्दैन । यो गुण खरो कार्यसम्पादन र निरन्तर नतिजा प्रतिको निष्ठा र दायित्व वहन गर्न सक्ने क्षमताले निर्क्योल गर्छ । भारतीय प्रशासन यस विषयमा निपुण भइसकेको छ । त्यसैले त्यहाँ राजनीतिले कर्मचारीतन्त्रलाई नतिजामा दोष दिँदैन । हाम्रोमा राजनीतिले कर्मचारीको र कर्मचारीले राजनीतिको गुण पहिचान गर्नु भन्दा बढी दोष देख्छन् । यसको अर्थ दुबै कुण्ठाबाट मुक्त छैनन् । यो कुण्ठा सीमित स्वार्थमा छ भन्ने कुरा भ्रष्टाचार, अनिमिततामा प्रष्ट देखिएको छ । सायदै यस्ता थोरै नतिजाहरु छन् जसमा कर्मचारी र राजनीति दुवै प्रफुल्ल हुने गर्छन् र रमाउने गर्छन् ।

विज्ञताको उपयोग योग्यले मात्र गर्न सक्छ । योग्यताको अर्थ पढेलेखेको व्यक्तिमात्र होइन । इमान्दार सुझबुझपूर्ण र उत्तरदायी व्यक्ति नै शासनमा योग्य हुन्छ । हाम्रोमा लोकसेवा परीक्षा पास गरेकोलाई योग्य मानिन्छ । यथार्थ योग्यता यो होइन । यही योग्यताको घमण्डले नेपालको कर्मचारीतन्त्रलाई किचेको छ । यसै भित्र विज्ञता थिचिएको छ । राजनीतिक योग्यता जनताको मतमा मात्र हुँदैन । जनताको मतको अहमतामा‌ राजनीतिक नेतृत्वले आफ्नो विज्ञता भुलेको छ । प्रतिनिधित्व र नेतृत्व भन्ने विषय फरक हुन । राजनीतिक नेतृत्व सुझबुझपूर्ण र कर्मचारीतन्त्रलाई उपयोग गर्नसक्ने खालको हुनुपर्छ । नकि‌ कर्मचारीतन्त्रबाट डोर्याउने खालको । कर्मचारीले आफ्नो कुरा राजनीतिक नेतृत्वलाई राख्न नसक्दा कर्मचारीको विज्ञता दबेर गएको छ । राजनीति आफ्नो ठाउँमा छ । कर्मचारीतन्त्रको मुल्यांकन आफ्नै ठाउँमा हुनुपर्छ ।

कर्मचारीतन्त्रको व्यवहार र राजनीति प्रतिको विश्वासले मात्र शासनमा स्थिरता र नतिजा लिन सकिन्छ । हाम्रोमा कर्मचारीतन्त्र बिज्ञ छ । अहिले त विदेशका विश्वविद्यालयबाट प्रमाणपत्र नलिएका कर्मचारी कमै भेटिन्छन् ।

हाम्रोमा नीति र कार्यक्रममा कर्मचारी र राजनीति नेतृत्वबीच भावनात्मक एकता देखिदैन । प्रशासनिक नेतृत्व लिएपछि राजनीतिक स्वार्थ त्याग्न नसक्ने मन्त्रीज्युहरु र विज्ञताको आत्मरतिमा रमाउने उच्च प्रशासकहरुको विज्ञता दबेर बसेको छ । यो विज्ञतालाई कतिले अवकाशपछि उपयोग गर्छन् । विश्व बैंक, ए डि वि जस्ता अन्तराष्ट्रिय संस्थामा राम्रै तलब लिएर उपयोग गरेका पनि छन् । कतिको विज्ञता आत्म स्वाभिमानमा दबिएको छ । कसैको विज्ञता अर्कोलाई गाली गरेर बितेको छ । तर यो ऊर्जा सुशासन, सम्वृद्धि र विकासमा उपयोग हुनै सकेन । यो आजसम्मको राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो असफलता हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ०६ बजे