काठमाडौ । इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएको छ । एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै इन्जुरी समयमा दुई गोल गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।
सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लाले अग्रता दिलाएका थिए तर खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।
३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको अग्रताका बावजुत दोस्रो हाफमा पुन आर्सनल खेलमा फर्कियो । ६१ औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए ।
यता, इन्जुरी समय आर्सनल लगातार दुई गोल गर्न सफल भयो ।
जोर्गिन्होको सट पोलमा लागेर बाहिरिएको बलमा लडेका गोलरक्षक इमिलियानो मार्टिनेजसँग डिफ्लेक्टेड भएर गोल भएपछि आर्सनलले खेलमा ३–२ को अग्रता बनायो । चौंथो गोल इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले खाली पोस्टमा गोल गरेका थिए । केहि सेकेन्ड बाँकी रहँदा सबै खेलाडी अगाडि बढेको मौकामा काउन्टर अट्याकमा खाली पोस्टमा गाब्रियलले गोल गरेर आसनललाइ ४–२ को अग्रता दिलाए ।
जितसँगै आर्सनल सिटीको खेल अघि सम्म पुन शीर्ष स्थानमा फर्किएको छ । आर्सनलले २३ खेलमा ५४ अङ्क जोडेको छ । एस्टन भिल्ला भने २३ खेलमा २८ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया