पोखरा । पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ ।
सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा उडान गरिरहेको सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रुत गतिको मानिन्छ । ‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु,’ अध्यक्ष दीपक पोखरेलले भने, ‘ आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु ।’
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यसअघि बुद्ध र यती एयरलाइन्सले परीक्षण उडान भरेका थिए । जनवरी १ देखि विमानस्थल सन्चालनको तयारी गरिएको छ ।
प्रतिक्रिया