काठमाडौं । घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।
नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन ।
भुटानलाई नेपालले सहजै हराउन सक्ने अवस्था छैन । किनभने भुटानको टोली पहिले भन्दा धेरै बलियो छ । भुटान पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दावेदारी दिन चाहन्छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतिक्रिया