काठमाडौं । साविकको विजेता भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भारत सुपर चारमा प्रवेश गरेको हो । बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
दुबईमा भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२ बनायो । भारतका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए । बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । यादवले ६८ रन बनाउँदा कोहलीले ५९ रनको योगदान गरे । त्यस्तै केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए । बलिङतर्फ हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान एक/एक विकेट लिए ।
यस जितसँगै भारतले सुपर ४ मा स्थान बनाएको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ । भारत समूहको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया