काठमाडौं । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई २–० ले हराएको छ । एन्टोनियो कोन्टेको टोलीले जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेल सम्म कायम राखेको हो । यसक्रममा टोटनहमले तीन खेल जितेको छ भने एक खेलमा अंक बाँडेको छ ।
खेलको पाँचौ मिनेटमा केनको गोलमा टोटनहमले अग्रता लियो । केनले डेजान कुलुभेस्कीको पासलाई सदुपयोग गरेका थिए ।
५६औं मिनेटमा केनले टोटनहमको अग्रता बढाउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । केनको पेनाल्टी प्रहार नटिङघमका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए ।
खेल सकिन नौ मिनेट बाँकी रहँदा केनले व्यत्तिगत दोस्रो गोल गर्दै टोटनमको जित पक्का गरेका थिए ।
तेस्रो स्थानको टोटनहमको चार खेलमा १० अंक छ । समान खेल खेल्दै दोस्रो स्थानमा बसेको म्यानचेस्टर सिटीको पनि समान १० अंक छ भने शीर्ष स्थानको आर्सनलको १२ अंक रहेको छ ।
यता वेस्ट हमले सिजनको पहिलो जित निकाल्ने क्रममा एस्टन भिल्लालाई १–० ले हरायो ।
प्रतिक्रिया