रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय भएको छ । गत असार १७ गते शुक्रबार बसेको कार्यपालिकाको बैठकले पालिकाको नाम ‘सुकिदह’ नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको हो । गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह गाउँपालिका बनाउन आगामी गाउँसभामा पेश गर्ने निर्णय भएको छ भने रोल्पाको गंगादेव गाउँपालिकाको गाउँसभा आगामी असार ३१ गते शुक्रबार हुने गाउँपालिका अध्यक्ष हरि बहादुर पुनमगरले जानकारी दिए ।
अध्यक्ष पुनले गाउँपालिकाको नाम परिवर्तन गर्ने आफ्नो चुनावी घोषणा प्रतिवद्धतामा भएको र सोही अनुसार आफूहरू अगाडि बढेको बताए । १७ गते गाउँकार्यपालिकाको बैठकले प्रस्ताब टेबुल गरेको र ३१ गते गाउँसभामा निर्णय सार्वजनिक गरी आमभेलालाई सम्बोधन गर्ने गरि पालिकाको नाम सुकिदह लाई मन्त्रीपरिषद सम्म फ्लोअफ गर्ने समेत अध्यक्ष पुनले बताए । त्यस्तै नाम फेर्ने निर्णयमा असहमति जनाएका गंगादेव गाउँपालिका ३ का वडाध्यक्ष लोकमान वली र ६ का वडाध्यक्ष वीर बहादुर वलीले नोट अफ डिसेन्ट लेखे भनेर आएको समाचार भ्रमपूर्ण र असत्य रहेको बताउदै पुनले भने ‘उहाँ दुबै जनाले सहमतिमा हस्ताक्षर गर्नु भएको छ । कसरी असहमति भन्ने कुरा आयो फेरि १७ गतेको कार्यपालिकाको बैठकमा सहभागी भएर निर्णय प्रस्ताबमा सहमति पनि जनाउनु भएको छ ।’
गंगादेव गाउँपालिकाको गाउँसभामा पालिकाको नाम सुकिदह बहुमतले पारित हुन्छ र तीन महिना अर्थात ९० दिनमा गंगादेव गाउँपालिकाको नाम बाट परिवर्तन भएर ‘सुकिदह’ आउनेमा आफूले विश्वास लिएको समेत बताए । नामको लागि बहुमतको साथ आफूहरू अगाडि बढ्ने उनको भनाई छ । अहिले गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडाध्यक्षको नेतृत्व गरेको छ ।१ वडा नेकपा माओवादी केन्द्रले वडाध्यक्षको नेतृत्व गरेको छ भने १ वडा नेकपा एमालेले वडाध्यक्षको नेतृत्व गरेको छ । यसरी हेर्दा गंगादेव गाउँपालिकामा बहुमत नेपाली कांग्रेसको देखिन्छ ।
नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । देश संघीयतामा प्रवेश गरेसँगै ७ वटा प्रदेश र ७५३ स्थानीय तह निर्माणले पूर्णता पायो । जसअन्तर्गत रोल्पाको सुकिदह गाउँपालिका पनि एक हो । वि.सं.२०७३ पुष १८ गते सुकिदह गाउँपालिकाको स्थापना र नामाकरण गरिएको थियो । वि.सं.२०७४ असार १४ गते पहिलो स्थानीय तहको निर्वाचन भएको थियो । असार १४ को निर्वाचन बाट सुकिदह गाउँपालिकाको अध्यक्षमा वीर बहादुर खत्री निर्वाचित भएका थिए ।
खत्रीले अध्यक्ष भएपछि सुकिदह नामलाई परिवर्तन गरि आफ्नो श्रीमती गंगा र छोरा देवको नामबाट गाउँपालिकाको नाम गंगादेव राखेका थिए । स्थानीय तह निर्वाचन वि.सं.२०७९ दोस्रो स्थानीय तह बैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेस पार्टीबाट गाउँपालिका अध्यक्ष हरि बहादुर पुनमगर भने पहिलेकै नाम सुकिदह फर्काउने पक्षमा छन् । सुकिदह गाउँपालिकाको नाम गाउँसभामा पेश भएपनि स्थानीय तहको उक्त निर्णय मन्त्रीपरिषदले अनुमोदन गर्नुपर्ने छ । गंगादेव गाउँपालिकाले सुकिदहको नाममा मुर्तरुप पाउन कानुनी व्यवधानहरुलाई पन्छाउन सक्छ वा सक्दैन? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया