पोखरा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएकी छिन् । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बनेकी शाही अहिले पुन: उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भइन् । शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट भएका छन् ।
खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्ड अन्तर्गत शाही र खड्कालाई उत्कृष्ट घोषित गर्दै १/१ थान इलेकट्रोनिक स्कुटर दिइएको हो । दुवैतर्फ ३/३ जनाको मनोनयन थियो । महिलामा शाहीसँगै क्रिकेटकी मनीषा उपाध्याय र कराँतेकी सरगम कुमाल तथा पुरुषतर्फ खड्कासँगै ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा मनोनयनमा परेका थिए ।
पूर्वबक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । उनी सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा सिल्भर पदक विजेता हुन् ।
यस्तै, टेनिसका दर्शिल श्रेष्ठले उदीयमान खेलाडी र टेनिसकै नीरज थापाले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् । नेपाल तेक्वान्दो संघ, गण्डकीले उत्कृष्ट खेल संघको अवार्ड पाएको छ भने कान्तिपुर पब्लिकेसनका दीपक परियार वर्ष उत्कृष्ट खेल पत्रकार बनेका छन् । उनीहरू सबैलाई जनही ३५ हजार नगद र ट्रफी सहित सम्मान गरिएको छ ।
प्रतिक्रिया